काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई जिम्मेवार र जवाफदेही बन्न सुझाएका छन्।
मेयर बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा साँच्चिकै देश सफा गर्नु परे नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने अभिव्यक्ति दिएपछि पोखरेलले त्यसको ‘काउन्टर’ दिएका हुन्।
एमाले महासचिव पोखरेलले मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने बताएका छन्।
‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि शनिबार बिहान काठमाडौं महानगरका मेयर शाहले अब सिंहदरबारभित्रको फोहोर नउठ्ने र देश सफा गर्न त्यहाँका नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने लेखेका छन्।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नु पर्ने हुन्छ’, बालेनले लेखेका थिए।
काठमाडौं उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडा लिएर व्यवस्थापन गर्ने गरिएको छ। तर, फोहोर व्यवस्थापनमा पटक पटक अवरोध हुँदै आएको छ।
गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका बालेनले राजनीतिक दलहरूबाट असहयोग हुने गरेको पटक पटक उल्लेख गर्दै आएका छन्।
उनले केही समय पहिले आफूलाई राजीनामा गर्न बाध्य पारिरहेको आशय सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।