काठमाडौं- नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो।
लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको बताइएको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउन र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको बताइएको छ।
काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ। साथै, काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक आरम्भ शनिबार बिहान ११:३० बजे हुनेछ। गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधि हुने आयोजकले जनाएको छ। यो महोत्सव सो दिन बेलुका ८:३० बजेसम्म चल्नेछ।
महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति हुनेछन्। कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्ती मुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफ्ना प्रस्तुति राख्नेछन्।
महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा रहनेछन्।
विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरू हुने आयोजकले बताएको छ।
यसैगरी, महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ। दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।
महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन्।
पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने आयोजकहरूको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।