राजविराज- नेपालमा विद्यमान हरवाचरवा प्रथाको मुक्ति घोषणा भएको ९ महिना बितिसक्दा पनि पुनर्स्थापना भएको छैन।
हरवाचरवाहरूले पुनर्स्थापनाको माग गर्दै शनिबारदेखि ५ दिने अधिकार यात्रा गर्ने घोषणा गरेका छन्।
शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत् राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकार यात्राको घोषणा गरेको हो।
मञ्चका केन्द्रीय अध्यक्ष दर्शनलाल मण्डलका अनुसार अधिकारयात्रा राजविराजबाट सुरू भएर लहान, सिरहा, जनकपुर र वीरगञ्ज विभिन्न स्थानहरूमा पुग्नेछ।
२८ गतेसम्म हुने यो यात्राले मुक्त हरवाचरवाहरूको न्यायिक पुनर्स्थापना तथा भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको माग गर्ने अध्यक्ष मण्डलले जानकारी दिए।
गत साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा मुक्तिको घोषणा गरेका थिए।
घोषणा गरिए पनि उनीहरूको जीवनमा परिवर्तन आएको छैन। अहिले मधेसमा १० हजारभन्दा बढी हरवाचरवा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।