काठमाडौं– नक्कली कागजातसहितका तीन वटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तीन वटा मोटरसाइकलसहित झापाको हल्दीबारी गाउँपालिका–१ का ४४ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको हो।
नक्कली ब्लुबुक बनाइ मोटरसाइकल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
नक्कली कागजात बनाएका बागमती प्रदेश ०२–०३८ प ३१६३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक, बागमती प्रवेश ०२–०३६ प १६५३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक र बागमती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र त्यसको ब्लुबक बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए।
त्यसैगरी न्यू धनुषा ट्रेड्रर्सको पान बिल ८ थान, त्यसको स्टाम्प, खरिद बिक्री सम्झौतापत्र एक थान र जगतबहादुर लिम्बू र कुमार शाक्यको नामको जग्गा खरिद बिक्री सम्झौता पत्र एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।