काठमाडौं– नेपाली कांग्रेसको नेतृत्वबाट पेलिएको महसुस भएपछि डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन्। अर्थविद्का रुपमा अपनाएको पेसा त्यागेर उनी कांग्रेसबाट सक्रिय राजनीति गर्ने गरी मैदानमा आएका थिए। गत मंसिर ४ को निर्वाचनमा उनले कांग्रेसबाट उम्मेदवार बन्न ठूलै जोडबल गरेका थिए। चितवन- १ बाट उनको नाम सिफारिस भए पनि बाजी भने अर्का अर्थविद् विश्व पौडेलले मारे। त्यसबाहेक उनले काठमाडौंको कुनै क्षेत्रबाट कांग्रेसको उम्मेदवार हुन समेत कोसिस गरे। कांग्रेसकै केही नेताहरुले उनको त्यो कोसिसमा साथ दिए, तर मुख्य नेतृत्व दाहिना भएन।
सांसदको उम्मेदवारका रुपमा नपत्याइए पनि मंसिर ४ को निर्वाचनमा कांग्रेसले उनको बौद्धिक क्षमतालाई पत्याएर घोषणापत्र मस्यौदा समितिको समितिको संयोजक बनायो। कांग्रेसमा त्यो तहको प्रभाव बनाइसकेका डा वाग्ले सभापति शेरबहादुर देउवा र उनी निकटकाहरुको तरिकाले उक्त पार्टी नबन्ने भन्दै बाहिरिएका छन्।
वर्तमानमा अवसरका लागि केही अप्ठ्यारो भए पनि कांग्रेसमा भविष्य ‘सुनिश्चित’ नै देखिएका डा वाग्लेले कुर्न सकेनन्। ‘समय छँदै योग्यताको उपयोग’ गर्ने बाटो भन्दै तनहुँ-१ बाट उम्मेदवार बनेका छन्। डा वाग्लेको रास्वपा रोजाइलाई अनेक दृष्टिबाट विश्लेषण गर्न थालिएको छ। त्यसमध्ये केही प्रश्नवाचक सहितका विश्लेषणका शीर्षक यस्ता छन्- वामपन्थी विचार पनि नरुचाउने, तर कांग्रेसमा पनि उकुसमुकुस भइरहेकाहरुको सुस्ताउते थलो त बन्दै छैन रास्वपा? डा वाग्ले जस्ताहरुको प्रवेशले कालान्तरमा रास्वपा लोकतान्त्रिक विचार बोक्नेहरुको विकल्प बन्न सक्छ त?
लोकतान्त्रिक विचारधाराबाट प्रभावित, अनेक क्षेत्रमा आफूलाई अब्बल ठहर्याएका, तर कांग्रेसमा अवसरको लाइन लाग्ने नचाहेका केही यसअघिदेखि नै उक्त पार्टीमा छन्। स्थानीय तहको निर्वाचन २०७९ मा कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य रहेका मनिष झाले पहिले नै रास्वपा रोजे। उनी अहिले उक्त पार्टीबाट सांसद छन्। यस्तै सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुलीलगायत लोकतान्त्रिक विचारधारामै झुकाव भएकाहरु उक्त पार्टीबाट सांसद छन्।
लोकतान्त्रिक विचारधाराबाट प्रभावित, तर कांग्रेसको राजनीतिक लाइन र उल्झनमा पर्न नचाहनेहरुको रोजाइ उक्त पार्टी बन्न सक्ने प्रारम्भिक संकेतहरु देखिएका छन्। पहिलो निर्वाचनबाटै एउटा सम्भावना देखाएको छ। राजनीति गर्न चाहने युवा वा अन्य पेसामा आफूलाई प्रमाणित गरेकाहरुका लागि अवसर समेत कायम छ। डा वाग्लेको प्रवेशको प्रभावस्वरुप उक्त पार्टीमा कांग्रेसका असन्तुष्ट युवापंक्ति आकर्षित हुन सक्ने आकलन गर्न थालिएको छ।
राजनितिक विश्लेषक उद्धव प्याकुरेल उक्त पार्टीमा मान्छेको खडेरी रहेकाले त्यस्तो अवस्था आउन सक्ने बताउँछन्। उनले भने, ‘कांग्रेसमा एक पक्षको आलोचना गर्दा पेलिए पनि अर्को पक्षले माफ गरेर पार्टीबाहिर जान नदिने पुरानो संस्कृति हो। पार्टीभित्रै संघर्ष गर्ने र अघि बढ्ने चलिरहेको हो। डा वाग्लेले पार्टी नै त्याग्नुभयो। अब अवसरका लागि भित्रै संघर्ष गर्ने र कुर्ने नभइ अघि बढ्ने बाटो त्यो पनि हुन सक्छ भन्ने केहीलाई पर्न सक्छ।’
उक्त पार्टीमा मान्छेको खडेरी भएका कारण आगामी दिनमा कांग्रेसभित्र अवसर नदेख्ने र पेलिनेहरु त्यहाँ पुग्न सक्ने बाटो बनेको उनी बताउँछन्। उक्त पार्टी सभापति रवि लामिछानेका विषयमा मूलधारका राजनीतिक दलहरुले कमजोरी गरिसकेकाले अब केही हानी बेहोर्न तयार रहनुपर्ने संकेत उनले गरे। डा वाग्ले जस्ता बौद्धिक व्यक्तित्वले पार्टी बनाउन सकेका उदाहरण भने कम भएको उनी बताउँछन्। तर उक्त पार्टीका लागि एक खालको सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गर्छन्। उनी भन्छन्, ‘बौद्धिक जमातले पार्टी चलाउने भए डा देवेन्द्रराज पाण्डेलगातयले गठन गरेको प्रजातान्त्रिक लोक दलहरु चल्थे।’
रास्वपाको उदय, कांग्रेसलाई हानी कि लाभ?
आम निर्वाचनको ६ महिनाअघि मात्रै गठित रास्वपा वैचारिक रुपमा स्पष्ट थिएन। ‘डिजिटल डेमोक्रेसी’ भनेर अघि बढेको पार्टीले लोकतान्त्रिक धार अपनाउने सामान्य संकेत छाडेको थियो। कांग्रेसको विकल्पका रुपमा डा वाग्लेले उक्त पार्टी रोजेपछि धेरैले ऊ ‘लिबरल डेमोक्रेसी’तर्फ अघि बढ्ने अनुमान गरेका छन्।
आमजनको आँखामा देखिने ‘हार्डवेयर’का रुपमा पार्टी सभापति रवि लामिछाने र ‘सफ्टवेयर’मा डा वाग्लेले नेतृत्व गर्ने आकलन समेत गर्न थालिएको छ। यसरी अघि बढ्दा उक्त पार्टीले समात्ने धार लोकतान्त्रिक नै हुनेछ। लोकतान्त्रिक विचारधारबाट टाढिन नचाहनेका लागि यसअघि कांग्रेसबाहेक कम विकल्प थिए। २०६२/०६३ अघि कांग्रेस आफैं फुटेर विकल्प दियो। त्यसपछि विभिन्न क्षेत्रीय दलहरुमा लोकतान्त्रिक विचारधारका नेताहरु पुगे।
कांग्रेसको केन्द्रमा प्रभाव जमाएका पूर्व सुनसरीका विजय गच्छदारदेखि पश्चिम कैलालीका रामजनम चौधरीसम्म त्यहीँ फर्किएका छन्। कांग्रेसकै पूर्व नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी खुम्चिने क्रममा छ। यसले गर्दा लोकतान्त्रिक विचारधारामै रहने, तर कांग्रेसबाट पनि असन्तुष्टहरुका लागि विकल्प कमजोर बनिरहेको थियो। रास्वपाको उदयले त्यसको भरथेग गर्न सक्ने विश्लेषकहरु बताउँछन्।
वामपन्थी पार्टी भने सुरुदेखि नै बहुविकल्पका साथ चलिरहेका छन्। अहिले नेकपा एमालेसँग असन्तुष्टहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीतिर पुगेका छन् भने त्यहाँ असन्तुष्टहरु नेकपा एमालेमा छन्। दुवैबाट असन्तुष्टका लागि अन्य समूहरु समेत छन्।
पार्टी सभापति लामिछानेमाथि लागेका मुद्दाहरु ‘क्लियर’ हुँदै गएका छन्। मूलधारका पार्टीले आमजनको भरोसा गुमाउँदै गइरहेका छन्। यस्तो अवस्थामा विकल्पका रुपमा उक्त पार्टी रोज्नेहरु बढ्न सक्ने विश्लेषकहरु बताउँछन्। ‘अहिले राष्ट्रियताको जुन लवज देखिन्छ र त्यसले आमजनमा प्रभाव देखिएको छ, त्यो दीर्घकालीन देखिँदैन। एक न एक दिन उद्घाटित हुनेछ। तर, त्यस्तो नहुँदासम्म भने यसले लोकतान्त्रिक शक्तिलाई नै असर पार्छ,’ प्याकुरेलले भने।
भारतमा ‘लिबरल डेमोक्रेसी’कै लाइनबाट अघि बढको, तर प्रगतिशील अवधारणा बोकेको आम आद्मी पार्टी (आप) बढ्दा हानी सबैभन्दा बढी कांग्रेस आईलाई भएको छ। कांग्रेस आईकी शिला दीक्षितले ह्याट्रिक गरेको दिल्लीमै कांग्रेसको अस्तित्व संकटमा छ भने कांग्रेसकै प्रभाव रहेको पञ्जावमा यसपल्ट आप नेतृत्वको सरकार छ। ती उदाहरणहरुले पनि यस्ता खालका पार्टी आउँदा तात्कालीन अवस्थामा लोकतान्त्रिक शक्तिलाई क्षति पुर्याउने गरेको डा प्याकुरेल बताउँछन्।
प्राध्यापक विजय मिश्र भने तत्कालीन रुपमा कांग्रेसलाई हानी देखिए पनि दीर्घकालीन रुपमा लाभ हुने विश्लेषण गर्छन्। उनी भन्छन्, ‘नेताहरुको दल अदलबदललाई सामान्य रुपमा लिनुपर्छ। रास्वपाले लिने लोकतान्त्रिक विचारबाट कांग्रेसको लोकतान्त्रिक विचारकै प्रबर्द्धन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।