काठमाडौं- एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरमा नेपाली समय मंगलबारदेखि महत्त्वपूर्ण बदलाव गरेका छन्। उनले ट्विटरको लोगो नै परिवर्तन गरेका हुन्।
निलो चरालाई हटाएर स्वर्णिम कुकुरलाई उनले लोगो बनाएका हुन्। मस्कले केही समयअघि एक प्रयोगकर्तासँग रमाइलो संवाद गरेका थिए र अहिले उक्त वाचा पूरा गरेको बताएका छन्। अहिले यो परिवर्तन वेब भर्सनमा दखिएको छ। मोबाइल एपमा भने अझै निलो चरा नै छ।
मस्कले गत वर्षको अक्टोबरमा ट्विटर किनेका थिए। किनेपछि उनले ब्लु टिकका लागि निश्चित शुल्क, कर्मचारी हटाउने र सीईओ पराग अग्रवाललाई हटाउनेलगायतका कदम चाले।
लोगोमा किन कुकुर?
सफ्टवेयर इन्जिनियर मार्कस र ज्याकसन पालमरेले सन् २०१३ मा बिटक्वाइन जस्तै अन्य क्रिप्टोकरेन्सीको मजाक उडाउन डगक्वाइन बनाएका थिए। मस्कले उक्त डगक्वाइन आफ्नै मन पर्ने क्रिप्टोकरेन्सी भएको विभिन्न समय बताएका छन्।
उनले त्यसको पक्षमा सन् २०२२ फेब्रुअरीमा ट्विट गरेका थिए। ट्विटमा उनले डगी मात्रै लेखेका थिए। अर्को ट्विटमा उनले लेखेका थिए- डगक्वाइन मान्छेको क्रिप्टो हो। नो हाइ, नो लो, अन्ली डगी। त्यसपछि यस क्रिप्टोकरेन्सीको मूल्य बढेर ५ सेन्ट भएको थियो। त्यसअघि यो ३ सेन्टमा चलिरहेको थियो।
सन् २०२० डिसेम्बरमा उनले एउटा शब्द : डगी भन्दै ट्विट गरेका थिए। उक्त क्रिप्टोको मूल्य २० प्रतिशत बढेको थियो। त्यही डगी (कुकुर)लाई मस्कले प्रयोग गरेका छन्।
मस्कले दुई महिनाअघि नै छनक दिएका थिए। उनले ट्विटरको नयाँ सीइओ भन्दै आफ्नो डगी फ्लोकीको तस्बिर सेयर गरेका थिए। उनले लेखेका थिए, ‘ट्विटरको नयाँ सीईओ असाध्यै अचम्मको छ। यो अन्य व्यक्ति भन्दा धेरै राम्रो छ। यो निकै स्टाइलिस र राम्रो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।