काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरे विरुद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँको माग दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार बिगो, जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो।
नासु घिमिरे पूर्वअर्थमन्त्री जनार्दन शर्माको समयमा बजेटको करको दर हेरफेरमा संलग्न भएर विवादमा आएका थिए। भन्सार विभागबाट अवकाश पाएका उनी व्यापारीको पहुँचबाट अर्थ मन्त्रालयमा बजेट निर्माणको अघिल्लो दिन संलग्न भएर करको दर हेरफेरमा संलग्न भएका थिए।
उनी २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए। भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा उनले राजीनामा दिएका थिए। अख्तियारले सम्पत्ति रोक्का, जफत र बिगो जरिवाना असुलका लागि श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको छ।
सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको आरोपपत्रमा उल्लेख छ। आम्दानीभन्दा २ करोडभन्दा धेरै रकम बढी देखिएको र त्यसको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ।
उनीसँग बिगो‚ सोही बराबर जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्नुका साथै भ्रष्टाचार निवारण ऐन अनुसार हदैसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।