काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक पार्टी मुख्यालय सानेपामा, आइतबार बिहान १० बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारबारे आधिकारिक निर्णय गर्ने बताइएको छ। बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ।
बारा क्षेत्र नम्बर २ मा कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने चर्चा छ। त्यस विषयमा आज (आइतबार)को बैठकले ठोस निर्णय गर्ने बताइएको छ।
यस्तै, बाँकी मन्त्रिपरिषद् विस्तारको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, कांग्रेसको आन्तरिक विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन।
सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा हुँदा कांग्रेसले ८ वटा मन्त्रालय पाएको थियो। तर, शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसले ४ जना मात्रै मन्त्रीको नाम टुंग्यायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।