काठमाडौं– मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले जनकपुरमा चैत्र १६ गते भएको हिन्दू-मुस्लिम समुदाय बीचको झडपले धनुषा जिल्लामा उत्पन्न भएको समस्यालाई तुरन्त समाधान गरी शान्ति-सुरक्षाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।
मधेस प्रदेशको भ्रमणमा रहेका अध्यक्ष डा दत्तले जिल्ला प्रशासन कार्यालय, धनुषामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँगको बैठकमा चैत्र १६ गते रामनवमीको दिन हिन्दू सम्राट सेनाले निकालेको र्याली मस्जिदको क्षेत्रमा पुग्दा दुवै समुदायबीच उत्पन्न भएको समस्याले सामाजिक सदभाव तथा शान्ति-सुरक्षामा खलल परेको हुनाले सो आगामी दिनमा नदोहोरिने गरी समाधानको उपाय निकाल्न निर्देशन दिएका छन्।
अध्यक्ष डा दत्तले आयोगमा सो घटनाको दर्जनौं उजुरी आएको र सो घटना निकै संवेदनशील भएकोले गर्दा सो घटनाको दोषीलाई पहिचान गरी तुरुन्त कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएका छन्।
दुवै समुदायलाई संयमता अपनाएर आगामी दिनमा धार्मिक क्रियाकलापहरु गर्न र सामाजिक सद्भाव कायम राख्नको लागि आ-आफ्नो तर्फ बाट योगदान दिनसमेत उनले आग्रह गरेका छन्।
बैठकमा अध्यक्ष डा दत्तसहित प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरका कर्मचारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अनुसन्धान प्रमुख सहितको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।