काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभुत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्। शुक्रबार रिपोर्टस क्लब नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे। उनले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए।
उनले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए। उनले तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे। उनले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।
उनले भने, ‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ। आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मुलभूत रुपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ। हो देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ। राजनीतिक स्थायित्वको कुरा पनि छ। सुशासनको कुरा पनि छ। मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु। सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।