काठमाडौं- डा बेदुराम भूसाल एमालेमा रहँदा बौद्धिक नेताको कोटीमा त थिए तर अवसर भने उनको भागमा बिरलै पर्थ्यो। एमालेमा हुँदा २०५८ सालमा राष्ट्रिय सभा सदस्य र २०६३ सालको अन्तरिम व्यवस्थापिकाको सांसद भएका थिए। त्यसपछि एकैपल्ट एमालेबाट नेकपा बनेपछि २०७६ सालमा राष्ट्रिय सभा सदस्य बने।
एमाले फुटेपछि बनेको नेकपा एकीकृत समाजवादीमा भने डा भूसालले एकपछि अर्को अवसर पाइरहेका छन्। पार्टीको संस्थापक महासचिव बनेका उनी त्यसबाट उपाध्यक्षमा सरेलगत्तै मन्त्री बन्न सफल भएका छन्। उनलाई एकीकृत समाजवादीका तर्फबाट कृषि तथा पशुपन्छि विकास मन्त्री नियुक्त गरिएको छ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा उनले विद्यावारिधि गरेका छन्। कक्षा ८ देखि एमएसम्मको पढाइ भने उनले जेलमा गरेका हुन्।
भूसाल जेल पर्दा १९ वर्षको उमेरका थिए भने कक्षा ८ मा पढ्थे। उनलाई कम्युनिष्ट गतिविधिमा संलग्न भएको भन्दै विद्यालय बाटै पक्राउ गरियो। भूसालको पढ्ने चाहना जेल पुगेपनि रोकिएन । उनले यसलाई नै अवसरमा बदल्ने सोच बनाए। पढ्दै गर्दा जेल परेका भूसालले जेलबाटै २६ वर्षको उमेरमा एसएलसी पास गरे।
एसएलसीपछि उनमा पढ्ने चाहना बढ्दै गयो र त्यहीँ बसेर एमएसम्म पास गरे। २०७६ पुसमा जनताको बहुदलिय जनवादमा विद्यावारिधि गर्दै विभूषित भए।
भूसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका हुन्। जवज नेकपा एमालेका नेता मदन भण्डारीले प्रंतिवादन गरेको सिद्धान्त थियो। नेकपा एमालेले यसैलाई आधारभूत सिद्धान्त बनाएर राजनीति गरिरहेको छ।
२०११ साल असारमा गुल्मी जिल्लाको धञ्चौरमा जन्मेका भूसालले २०२७ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए। २०२९ कम्युनिस्ट पार्टीको सदस्यता लिएका भूसाल २०३० सालमा भएको बर्रे संघर्षमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। भूसालले २०३० देखि २०४३ सालसम्म जेल जीवन बिताए।
उनी त्यसपछि नेकपा एमालेमा सक्रिय भए। एमालेको स्कुल विभागमा उनी लामो समय सक्रिय भएका थिए। नेकपा एमालेका धेरै नेता कार्यकर्तालाई उनले राजनीतिक सिद्धान्त पढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।