तस्बिर प्रदीपराव वन्त काठमाडौं– नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन्। आठ जना मन्त्री पाएको कांग्रेसले हाल चार जना मन्त्री मात्र पठाएको छ।
यस्तै माओवादी केन्द्रबाट शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्। भौतिक मन्त्रालयको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठको भने मन्त्रालय हेरफेर भएको छ। उनलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिइएको छ।
यता नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षसमेत रहेका बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्।
जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन्।
जनमत पार्टी भने सरकारबाट बाहिरिएको छ। उक्त पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नपाएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन्। यस्तै सत्ता साझेदारकै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि मन्त्रीमण्डलमा सहभागी भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।