काठमाडौं– दोस्रो चरणको छलफलपछि पनि मिटरब्याज पीडित र सरकारबीच सहमति हुन सकेन। शुक्रबार गृह मन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिबद्धता जनाएसँगै शनिवार फेरि छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो।
छलफलपछि मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए। उनले सरकारसँगको छलफल पनि सकारात्मक रुपमा रहेको बताए। उनले आफूले देशकै गम्भीर समस्या उठाएकाले यसमा सबैको साथ रहनुपर्ने बताए।
उनले भने, ‘पूरा सहमति त भएन, आज पनि हाम्रो १० बुँदे माग थियो, त्यही मागमाथि गम्भीर रुपले छलफल भयो, सकारात्मक कुरा आएको छ। प्रधानमन्त्रीले पीडितलाई भेट्ने कुरा भएको छ। भोलि ११ बजे बस्नेगरी रोकिएको छ। यो चानचुने समस्या होइन, गम्भीर समस्या भएकाले समय लागेको छ। प्रधानमन्त्री नै अनामनगरको भाटभटेनीको नमोबुद्ध गुम्बामा बेलुकासम्म आउने कुरा छ। हामीले राज्यसँग राखेको माग पूरा हुनु आवश्यक छ।’
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
सरकारसँग आफूहरुले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितहरुको पक्षमा कानुन निर्माण गर्न माग राखेको उनले बताए। साथै चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको स्रोत खोजी गर्नुपर्ने, साहुकारहरुको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने र जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।