काठमाडौं- नेपाली कांग्रेसबाट पहिलो चरणमा सभापति शेरबहादुर देउवा पक्ष मात्रै सरकारमा सहभागी हुने भएको छ। मन्त्रालय भागबन्डामा संस्थापनइतर समूहले असन्तुष्टि जनाएपछि सभापति देउवाले आफूनिकट चार जनाको नाम प्रधानमन्त्री कार्यालय पठाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले चार जनाको नाम मात्रै आइपुगेको पुष्टि गरेको छ। कांग्रेसको संस्थापनइतर पक्षले कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेपछि देउवाले चार मन्त्रालय बाँकी छाडेर मन्त्री सिफारिस गरेका हुन्।
देउवाले उपप्रधान तथा रक्षा मन्त्रीको रुपमा पार्टी उपसभापति पुर्णबहादुर खड्काको नाम पठाएका छन्। अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योगमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुडलाई मन्त्री बनाउन देउवाले सिफारिस गरेका छन्।
कांग्रेसले प्राप्त गरेका ८ मध्ये जम्मा दुई मन्त्रालयका लागि नाम सिफारिस गर्न सभापति देउवाले संस्थापन इतर समूहलाई भनेका थिए। सहमहामन्त्री बद्री पाण्डेका अनुसार कम्तिमा तीन मन्त्रालयका लागि दाबी गरिएपनि सभापति देउवाले नमानेपछि तत्काल नाम नै नदिने निर्णय भएको हो।
दिउसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने कार्यक्रम पहिले नै तय गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।