कांग्रेस सभापति शेरबहादुर देउवा (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसबाट मन्त्रीहरुको नाममा शुक्रबार बिहानसम्म सहमति जुट्न सकेको छैन। शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाम सूची मागे पनि कांग्रेसमा विवाद कायम रहेका कारण अनिश्चित बनेको छ।
कांग्रेस एक नेताका अनुसार मन्त्रीका आकांक्षी र उनीहरुलाई बोक्ने शीर्ष नेताहरुका कारण मन्त्रीको सूची टुंगिन नसकेको हो। बिहीबार राति नै प्रारम्भिक सूची टुंग्याए पनि त्यसमा सहमति नजुटेपछि शुक्रबार बिहान फेरि शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाइएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा नेताहरु जुट्ने क्रम जारी रहेको छ।
बिहीबार राति सामाजिक सञ्जालमा कांग्रेस मन्त्रीहरुको सूची भन्दै सार्वजनिक हुन थालेपछि उपसभापति पूर्णबहादुर खड्काले खण्डन गरेका थिए। उनले बिहीबार राति सामाजिक सञ्जालमा देखिएपछि प्रस्ट पार्नु राम्रो होला भन्दै लेखे, ‘अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुंगो लागिसकेको छैन। जबसम्म औपचारिक निर्णय भएर सभापतिज्यूको हस्ताक्षरित पत्र प्रधामन्त्रीकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुन सक्छ।’ कांग्रेसबाट उपसभापति खड्काकै नेतृत्वमा सरकारमा जाने विषयमा भने नेताहरु सहमत छन्।
सभापति देउवासँग छलफल गर्नुअघि इतर समूहका नेताहरुले छुट्टै छलफल गरेका छन्। कांग्रेसको भागमा परेका ८ मा सभापति देउवाले ६ जना आफू निकटबाट पठाउने तयारी गरेका छन्। इतर समूहबाट २ जनाको नाम सिफारिस गर्न भनिएको छ। जुन विषयमा संस्थापनइतरका नेताहरु असन्तुष्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।