काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छ्न्। १० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।
नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनेगरी तयारी भइरहेको जानकारी दिए।
बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो।
हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने भएका छन्।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने सहमति भएको छ।
माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो। एकिकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।
नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमति भएको छ।
अन्तिम समयमा केही मन्त्रालय हेरफेर पनि हुन सक्ने स्रोतले बतायो।
नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले ७ सदस्यीय छ। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ५ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, माओवादी केन्द्रसहित १० दलको समर्थन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।