काठमाडौं- स्वर्णीम वाग्लेले कांग्रेस परित्याग गरेपछि गुरुराज घिमिरेले उनलाई घर फर्काउन कांग्रेस नेताहरुलाई अपिल गरेका छन्। ट्विटरमा उनले लेखेका छन्- ‘कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने स्वर्णीमलाई घर फर्काउनुस्, अन्यथा राम राम!!’
उनले नेपाली कांग्रेसमा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रहेको उल्लेख गरेका छन्। ‘सन् १९११मा रिचर्ड मिसेलले निकालेको निष्कर्ष अनुसार कुलिनतन्त्रको चरित्र हो यो। यसैको दृष्टान्त हो, स्वर्णिमको कांग्रेस परित्याग!’
वाग्लेले बिहीबार कांग्रेस त्यागेको घोषणा गरेका थिए। उनले पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको बताएका थिए।
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले लेखेका छन्।
वाग्ले वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ- १ मा उम्मेदवार बन्ने चर्चा छ। आफूहरुले उनीसँग कुरा गरिरहेको तर अन्तिम सहमति पाइनसकेको रास्वपाका नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।