काठमाडौं- आगामी वैशाख १० गते तनहुँ- १ हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीले डा स्वर्णिम वाग्लेलाई प्रस्ताव राखेको छ।
'हामीले उहाँलाई मंसिर ४ कै निर्वाचनमा पनि हाम्रो पार्टीबाट उम्मेदवार बन्न प्रस्ताव राखेका थियौँ। तर त्यतिबेला उहाँ कांग्रेसबाटै उम्मेदवार बन्न चाहनुभयो। यद्यपि, टिकट पाउनुभएन', वाग्लेसँग संवादमा रहेका रास्वपाका एक नेताले भने, 'यसपटक पुनः प्रस्ताव राखेका छौँ।'
रास्वपाको प्रस्तावमा वाग्ले सकारात्मक भएको सोही पार्टीका अर्का नेताको पनि दाबी छ। उनका अनुसार, वाग्ले लगभग सहमत पनि भइसकेका छन्। तर, औपचारिक रुपमै सहमति भने दिएका छैनन्।
वाग्ले मंसिर ४ को निर्वाचनका लागि कांग्रेसको तर्फबाट घोषणापत्र तयार पार्ने समितिमा थिए। उनी कांग्रेसको घोषणापत्र मस्यौदा उपसमितिको संयोजक समेत भएका थिए।
वाग्लेलाई शेरबहादुर देउवा प्रधानमन्त्री छँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए। त्यतिबेला देउवा र वाग्लेको सम्बन्ध राम्रो रहेको बताइन्छ। तर पछिल्लो समय वाग्लेले शेखर कोइराला पक्ष, विशेष गरी गगन थापा लगायतका नेतालाई साथ दिने गरेका थिए।
निर्वाचनपछि कांग्रेसको संस्थापन इतर पक्ष कमजोर हुँदै गएको अवस्थामा वाग्लेको राजनीतिक सुरक्षा नभएको भन्दै कांग्रेसकै कतिपय नेता तथा कार्यकर्ताले प्रश्न उठाइरहेका थिए।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा वाग्लेसँग सम्पर्क हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।