काठमाडौं– राष्ट्रिय सभाले मर्यादासम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
नेकपा एकीकृत समाजवादीका सांसद वेदुराम भूसालले राष्ट्रिय सभामा उक्त विधेयकमाथि परेको संशोधनमाथि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव गरेका थिए।
गैर सरकारी विधेयकको रुपमा दर्ता भएको विधेयकलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले निर्णयार्थ पेस गरेका थिए। बैठकमा हुन्न भन्ने आवाज नआएपछि सर्वसम्पत्तिले विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिमा पठाइएको छ।
अब विधायन समितिले उक्त विधेयकमाथि दफावार छलफल गर्ने छ। संशोधनसहित विधेयकमा प्रस्ताव गरिएका व्यवस्थामाथि पनि छलफल गर्दै समितिले सहमतिको आधारमा प्रतिवेदन बनाउने छ।
उक्त समितिले प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सभामा छलफल हुने छ। समितिले आवश्यक ठानेमा उप समिति बनाएर पनि विधेयकमाथि छलफल गर्न सक्ने छ।
राष्ट्रिय सभाको अर्को बैठक चैत २१ गते बस्दै छ। विधेयकमा प्रधानन्यायाधीशलाई पाँचौ वरीयतामा राखिएको भन्दै विवाद भइरहेको छ। प्रधानन्यायाधीश वरीयताक्रममा चौथो नम्बरमा रहँदै आएका थिए। तर प्रस्तावित विधेयकले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई माथि राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।