काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याज पीडितहरुलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढिलो गर्नु नहुने बताएका छन्। भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले मिटरब्याज पीडितहरुलाई जतिसक्दो चाँडे भेट्नुपर्ने बताए।
मिटरब्याज पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्व भेट गर्न शर्माले आग्रह गरे। उनले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए।
मिटरब्याज पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा शर्माको जोड थियो। मिटरब्याज पीडितहरु कुनै पनि राजनीतिक दलको छत्रछायामा रहेको भए पनि उनीहरुको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको उनले बताए।
महामन्त्री शर्माले भने, ‘१३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिनुपर्छ। अविलम्ब भेट्नुपर्छ। त्यसले उहाँहरुले आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।