काठमाडौं– सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक पार्टी मुख्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।
बुधबार बसेको १० दलीय गठबन्धनको बैठकमा जुटेको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बुधबारको सहमतिअनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ।
कांग्रेसमा कसको नेतृत्वमा सरकारमा सहभागी हुने विषयमा पनि नेताहरुबीच हानथाप छ। यद्यपि पार्टी सभापति शेरबहादुर देउवा भने उपसभापति पूर्ण बहादुर खड्कालाई पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी गराउने पक्षमा छन्।
कांग्रेसले ८ वटा मन्त्रालय पाउने भनिए पनि कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन। गठबन्धनको बैठकले कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे प्रारम्भिक सुझाव ल्याउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई नै दिएको छ। प्रचण्डले गरेको प्रस्तावमा छलफल गरेर सहमतिमा पुगिने नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।