काठमाडौं- बुधबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति गरेका छन्। सभामुख र बोलिरहेका सांसदको बीचबाट अर्का सांसद हिँडेपछि उनले नियमापत्ति गरेका हुन्।
प्रतिनिधि सभा नियमावलीको नियम २० (६) मा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्युँ फर्काएर बस्न नहुने’ भनिएको छ। तर सत्ता पक्षका सांसद त्यसरी हिँडेपछि बर्तौलाले नियमापत्ति गरेका हुन्।
'सभामुखको आसन र बोल्ने माननीयज्यूबीचबाट आज पनि माननीय सदस्य पार्टी कार्यालयमा प्रवेश गरेको जसरी सांसदहरुसँग हात मिलाउँदै, यसप्रकारले संसद्मा पटकपटक प्रवेश गर्ने र सत्ता पक्षका माननीयज्यूहरुबाट पटकपटक संसदीय मर्यादाको नियमको उल्लंघन गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन', उनले भने।
बर्तौलाले यस विषयमा स्पष्ट रुलिङ होस् भनेर ध्यानाकर्षण समेत गराए। सभामुख देवराज घिमिरेले सो विषयप्रति सांसदहरुको ध्यानाकर्षण गराउँदै सचेत हुन आग्रह गरेका थिए।
बर्तौलाले चैत १२ को प्रतिनिधि सभा बैठकमा पनि यस्तै किसिमको नियमापत्ति गरेका थिए। त्यतिबेला भने पूर्णबहादुर खड्काले क्षमा मागेका थिए।
त्यस दिन बर्तौलाले भोलिका दिनमा पनि यो विषय काम लाग्ने भन्दै नियमापत्ति गरेको बताएका थिए। तर तीन दिनपछि नै सोही प्रवृत्ति दोहोरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।