काठमाडौं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक यही अधिवेशनमा पेस गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकता नपाउँदा नेपाली हुन नपाएको र उनीहरुले कुनै पनि सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराए।
‘कयौं नेपालीले अहिले पनि नागरिकता पाएका छैनन्,’ थापाले भने, ‘नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न नपाउने, लोकसेवाको परीक्षा दिन नपाउने, अन्य महत्वपूर्ण कामबाट उनीहरु वञ्चित भएका छन्।’
कांग्रेस सांसद थापाले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकता सम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए। उनले नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने भन्दै यो विधेयक पेस गर्न माग गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।