काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा- २ मा भइरहेको निर्वाचन उम्मेदवार र पार्टीबीचको प्रतिस्पर्धा मात्रै नभएको बताएका छन्। माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहलाई बुधबार पार्टी प्रवेश गराउँदै उनले त्यहाँको निर्वाचन लोकतन्त्र कायम राख्ने कि मजाक उडाउने? भन्ने लडाइँ रहेको बताए। निर्वाचन सत्य र असत्यको बीचमा, न्याय र अन्यायको बीचमा लडाइँ भएको उनको भनाइ छ।
मंसिर ४ मा भएको निर्वाचनमा त्यहाँबाट जसपाका रामसहायप्रसाद यादव विजयी भएका थिए। सप्तरी- २ मा राउतसँगै पराजित भएका जनमत पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद बन्नकै लागि रामसहायलाई उपराष्ट्रपतिमा निर्वाचित गराइसकेका छन्। उपेन्द्र बारा- २ बाट उम्मेदवार बन्ने तयारीमा लागेपछि राउत आक्रोशित हुँदै आएका छन्।
'षडयन्त्र गरेर चोरबाटोबाट (उपेन्द्रलाई संसद्) पसाउने कामका लागि यो जालझेल रचियो। बारा २ को जबर्जस्ती सिट खालि गर्न लगाइयो। त्यहाँका जनताले जुन जनमत दिएका थिए, त्यसको अपमान भयो। घोर अपमान भयो। तीन महिनामै खालि गरिने भए भोट दिएको के काम भयो?', राउतले प्रश्न गरे।
उनले उपेन्द्रकै लागि रामसहायको क्षेत्र रिक्त भएको सूचना संसद्मा पढ्न नपाइ हतारोका साथ निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको आरोप लगाए। 'सिट खालि हुन पाएको छैन। संसद्मा सूचना पढ्न पाएको छैन। निर्वाचन आयोगले वैशाख १० का लागि निर्वाचन कार्यक्रम घोषणा गरिदियो। कतिसम्मको मिलेमतो छ। सरकारले निर्वाचन आयोगलाई कतिसम्म दबाब दिएर, कतिसम्म मिलेमतो गराउन सक्छ भन्ने कुरा यहाँबाट देखिन्छ', उनले भने।
कसैलाई मन्त्री बन्ने छटपटाहट भएकै कारण दबाब दिएर बारा- २ मा पनि निर्वाचन गर्न लागिएको राउतको भनाइ छ।
कुशवाहलाई जनमत पार्टीबाट उम्मेदवार बनाउनका लागि पार्टी प्रवेश गराइएको हो। कार्यक्रममा सम्बोधन गर्दै राउतले जनमत पार्टी जनताको मात्रै होइन, अन्यायमा परेका नेताहरुको पनि उद्धार गर्ने पार्टी बनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।