काठमाडौं- १० वैशाखमा हुने बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने गरी माओवादी नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्।
गएको ४ मंसिरमा भएको निर्वाचनमा कुशवाहा माओवादीवाट त्यस क्षेत्रमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका थिए।
उपराष्ट्रपति रामसहाय यादवसँग चार सय मतले पराजित भएका कुशवाहा उपनिर्वाचनमा माओवादीवाट उम्मेदवार बन्ने सम्भावना नदेखे पनि जनमत पार्टी प्रवेश गरेका छन्।
काठमाडौमा बुधबार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष सीके राउतले जनमत पार्टीमा प्रवेश गराएका हुन्छ। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी दिने चर्चा चलेसँगै जनमत पार्टी त्यस विरुद्धको रणनीतिमा अघि बढेको थियो।
उपराष्ट्रपति निर्वाचनमा जसपाले बारा २ बाट निर्वाचित आफ्ना सांसद रामसहाय यादवलाई उम्मेदवार बनाएपछि नै जसपाले अध्यक्ष उपेन्द्र यादवलाई सो क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको थयो।
जसपाले सत्तारुढ गठबन्धनबाट कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बन्ने गरी अघि बढेपछि माओवादीका कुशवाहाले पार्टीको निर्णय नमान्ने बताउँदै उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा केही दिनअघि गरेका थिए। त्यसको परिणामस्वरुप नै उनी जनमत पार्टी प्रवेश गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।