काठमाडौं- नेपाली कांग्रेसले मंगलबारको बैठकमा ९ वटा मन्त्रालयको दाबी पेस गरेको छ। बुधबार बिहान १० बजेपछि सुरु भएको सत्ता साझेदार दलको बैठकमा मन्त्रालय र न्यूनतम साझा कार्यक्रमबार छलफल भइरहेको छ।
मन्त्रालयको संख्या र न्युनतम साझा कार्यक्रम दुवै टुंग्याएर सकेसम्म बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छ। त्यही योजनाअनुरुप मंगलबार स्थगित बैठक बुधबार बिहानैबाट सुरु भएको हो।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले ९ मन्त्रालय दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले सात मन्त्री र एक राज्यमन्त्री गरी आठ जनालाई सरकारमा सहभागी गराउने प्रस्ताव कांग्रेस समक्ष राखेका छन्।
कांग्रेसभित्र गुटगत, समावेशी र प्रदेशगत सन्तुलनका आधारमा मन्त्रीहरु छान्नुपर्नेछ। सभापति शेरबहादुर देउवाले केही दिनदेखि मन्त्रीको नाम टुंग्याउन गृहकार्य गरिरहेका छन् तर आकांक्षीको सूची लामो बन्दा समस्या सिर्जना भइरहेको छ।
देउवाले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रवक्ता प्रकाशशरण महतसहित नेताहरु एनपी साउद र सीता गुरुडलाई मन्त्री बनाउने लगभग तय भइसकेको छ। सभापति देउवाले शेखर कोइरालालाई उनको गुटबाट दुई जना मन्त्रीको नाम सिफारिस गर्न भनेको कांग्रेस नेताहरु बताउँछन्।
कोइरालाको सिफारिसमा उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बु मन्त्री बन्ने सम्भावना बढी रहेको बताइएको छ। यसरी हेर्दा कांग्रेसले पाउने ८ मा ६ जना लगभग तय छन्। बाँकी एक मन्त्री र एक राज्यमन्त्री रहेको छ। त्यसका लागि देउवा समूहकै रमेश लेखक, किशोरसिंह राठौर, मोहन बस्नेत, रमेश रिजाल, रामहरि खतिवडा लगायतका नेताहरुले लबिङ गरिरहेका छन्।
यसैगरी कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई सोमबार भेटेरै नयाँ पुस्ताको तर्फबाट प्रदीप पौडेललाई मन्त्री बनाउन सुझाएका छन्। उनीहरुले धनराज गुरुङ, डिकबहादुर लिम्बु, सीता गुरुङ लगायतको नाममा सहमति समेत जनाएका छन्। देउवाइतर समूहबाट पौडेल बाहेक सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार लगायतले पनि मन्त्रीका लागि आकांक्षा प्रस्तुत गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।