जनकपुरधाम– मधेस प्रदेश सरकारका मन्त्रालयका नामहरु हेरफेर भएका छन्। प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन २०७९ को अनुसूची परिमार्जन गर्दै मन्त्रालयहरुको नाम परिवर्तन गरेको हो।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या भने ११ नै यथावत् राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नुरहरि खतिवडाले मन्त्रिपरिषद्को बैठकले केही मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरिएको सचिव खतिवडाले जानकारी दिए।
सचिव खतिवडाका अनुसार नाम हेरफेर तथा समायोजन भए पनि प्रमाणीकरण हुन भने बाँकी रहेको छ। प्रदेश सरकारमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहनेछन्।
केही मन्त्रालयको नाम लामो र कामको प्रकृतिअनुसारको नाम सान्दर्भिकसमेत नदेखिएकोले हेरफेर तथा समायोजन गरिएको सचिव खतिवडाले बताए।
मधेस प्रदेशमा यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।