काठमाडौं– काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपीएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रलने पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो।
जितपछि कोशीले चार खेलबाट ६ अंक बनायो। कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपीएफले लिग चरणका सबै खेलमा सुखद् नतिजा निकाल्यो। एपीएफले तालिकामा ८ अंक बनाउँदै शीर्ष स्थानमा रह्यो।
लिग चरणको अन्तिम खेलमा मंगलबार कोशी प्रदेशले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले पूरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर मात्र ४३ रन बनाउने सक्यो। मधेसका लागि सरस्वती कुमारीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
तीन खेलाडी शून्य र दुई खेलाडी रन आउट भएका थिए। कसिलो बलिङ गर्ने क्रममा कोशी प्रदेशका निशा शाह, कप्तान रुबिना क्षेत्री र अलिशा खडियाले समान दुई/दुई तथा सबनम राईले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको येगफल तयार पारेको थियो। कोशीका लागि रुबिना क्षेत्रीले ३९, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृती कटुवालले १० रन जोडे। पहिलो विकेटका लागि रुबिना र काजलले ४० रनको साझेदारी गरेका थिए। मधेसका लागि अमिरन निशा, सन्तोषी चौधरी र अमिषा पटेलले समान दुई/दुई विकेट लिए। यसअघि ललितपुर मेयर्स–११ लाई सात तथा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको कोशी विभागीय टोली नेपाल एपीएफ क्लबसँग सात विकेटले पराजित भएको थियो।
प्रतियोगिता अन्तर्गत मंलबार नै भएको दिनको पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ३७ रनले पराजित अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको छ। शतप्रतिशत जित निकालेको साविक विजेता एपीएफ आठ अंकका साथ फाइनल प्रवेश गर्दा चारै खेलमा पराजय व्यहोरेको ललितपुर अंकविहीन रह्यो।
एपीएफले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै २० ओभर ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै मात्र ७३ रन बनाउन सक्यो। ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक १५ तथा लक्ष्मी चौधरी र सीमा केसीले समान १०/१० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। ललितपुरलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि राजमती ऐरी र बिनु बुढा मगरले समान दुई तथा इन्दु बर्मा, कप्तान सीता राना मगर र सुष्मा श्रेष्ठले समान एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाउन सक्यो। एपीएफका लागि राजमती ऐरीले ५२ बलमा चार चौकाको मद्दतमा अविजित ४१ रनको पारी खेल्दा कप्तान सीता राना मगरले १९ र बिनु बुढा मगरले १२ रन जोडे। यस बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। ललितपुरका लागि सीमा केसी र श्रृष्टि जैसीले समान दुई/दुई तथा मनिषा उपाध्याय र सोनी पाख्रिनले समान एक/एक विकेट लिए।
एपीएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। यसैगरी, यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो। फाइनल खेल बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।