काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको ५ हजार जरिवाना तिरेर मंगलबार उनीहरु रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले बताए।
अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए।
धरौटी नतिरेपछि उनीहरुलाई आइतबार कारागार पठाइएको थियो। सोमबार उनीहरुले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ताका लागि निवेदन दिएका थिए। तर सर्वोच्च प्रशासनले रिट दरपिठ (दर्ताका लागि अस्वीकार) गरेपछि मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका हुन्।
चैत ७ गते बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।