काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मर्यादाक्रममा विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले प्रधानन्यायाधीशलाई मर्यादाक्रममा सभामुख र राष्ट्रिय सभाको अध्यक्षभन्दा तल राख्ने कार्य संविधान विपरीत भएको टिप्पणी गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा राख्दै कोइरालाले लेखेका छन्, ‘मर्यादाक्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभाको अध्यक्षभन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत छ। संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ।’
उनले संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको स्मरण गर्दै नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको स्मरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।