धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएपछि एमालेका पूर्व उपाध्यक्ष भीम रावल अहिले किनाराकृत छन्। एमालेमा कुनै भूमिका नपाएका/नलिएका रावलमाथि उपाध्यक्ष विष्णु पौडेलले गल्ती गरेको टिप्पणीपछि उनले प्रतिक्रिया जनाएका छन्।
एमालेले चलाइरहेको ‘मिसन ग्रासरुट’ अन्तर्गत सोमबार अछाममा आयोजित कार्यक्रममा केन्द्रबाट गएका उपाध्यक्ष विष्णु पौडेलले उनीमाथि टिप्पणी गरेका थिए। पौडेलले भनेका थिए, ‘भीम रावलजी पार्टी र कार्यकर्ताले निर्माण गरेको नेता हो। उहाँले गल्ती गर्नुभएको छ र गम्भीर गल्ती गर्नुभएको छ।’
उनले पार्टीका औपचारिक निर्णयविरुद्धमा बोलेको, स्थानीय र आम निर्वाचनका असहयोग गरेको र अर्कै पार्टीको नेतासँग भेटघाट बढाएको जस्ता आरोप लगाए। उनले थपे, ‘भीम रावलजीले गल्ती कमजोरी रियलाइज गरेर पार्टी काममा फर्किनुहुन्छ भने ठीक छ।’
पौडेलको उक्त टिप्पणीपछि एमालेको कार्यक्रम नै विथोलियो र रावल पक्षधहरुले ‘अछाम भीम रावलको किल्ला हो, ओलीगुट मुर्दावाद’ भन्दै नारा लगाएपछि कार्यक्रम नै टुंग्याइयो। अछाममा ‘मिसन ग्रासरुट’को अभियान चलिरहँदा कुनै जिम्मेवारी नदिइएका रावल सोमबार धनगढी थिए। उनले पौडेलको आरोपमाथि धनगढीबाटै प्रत्यारोप लगाएका छन्।
उनले मंगलबार भने, ‘देउवासँग मिलेर चुनाव लडेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने, पार्टी फुटाएका माधव नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गर्ने को हो? अध्यक्ष केपी शर्मा ओलीजी र विष्णु पौडेलजीले स्वयंले वार्ता गर्नुभएको छ। पार्टी छाडेकालाई राष्ट्रपति बनाउन मिल्ने तर मैले कुनै मान्छे भेट्दा समाजवादी भइसक्यो भन्ने?’
पार्टी नेतृत्वप्रति फरक मत राखे पनि एमालेमै रहेर काम गर्न खोजिरहेको आफूलाई घचेट्न खोजिएको भन्दै उनले प्रतिवाद गरे। ‘मेरो नेपाली कांग्रेस र राप्रपासँग भेट्ने अधिकार छैन? अमुक ठाउँमा जन्मेका र निश्चित नाम गरेकाले मात्रै राजनीतिमा आउनुपर्ने हो? उम्मेदवार हुनु पाउने हो? अन्यथा कारबाही हुनेछ भनेर लेखे भयो,’ रावलको प्रतिक्रिया छ।
पार्टीको निर्णय नमानेको पौडेलको आरोपमा नेता रावलले थप प्रश्न गरे, ‘देशका जनतालाई विषादी खुवाउ मैले भन्नुपर्छ?, हाम्रा सिमाना मिचिएका ठीक हुन् मैले भन्नुपर्छ, संयुक्त सैन्य सन्धि गरेर परराष्ट्र नीति सिध्याउ मैले भन्नुपर्छ, पार्टीमा अब प्रत्येक तहमा निर्वाचन होइन, टीके प्रथा गरौं मैले भन्नुपर्छ। यदि कसैले भन्नुपर्छ भने त्यो पार्टीको नीति, विधान तथा पार्टीका अधिवेशनबाट स्थापित घोषणापत्र विपरीत हुन्छ। यसकारण मैले कुनै पनि निर्णयको उल्लंघन गरेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।