फाइल तस्बिर
काठमाडौं– एम्नेष्टी इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको बताएको छ।
एम्नेष्टी इनटरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निस्कर्ष सार्वजनिक गरेको हो।
आज विश्वभर एकसाथ निस्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एशिया प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश, इण्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड लगायतका देशहरुमा स्वतन्त्रता माग गर्नेहरुमाथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने, लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको पाइएको छ।
नेपाल लगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्यधिक बल गर्ने तथा घातक बल प्रयोग भएको बताएको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताए।
मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा विकसित र ठूला भनिएका देशहरुले मानवअधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको उल्लेख छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशहरुले विषय अनुसार फरकफरक धारण बनाएको र त्यसै अनुसार व्यवहार गरेर मानवअधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताइन्।
एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा मुख्यगरी विश्वभर असहमतिको निर्मम दमन भइरहेको, राज्यले अधिकार संरक्षण नगर्दा महिलाहरु मारमा परेको मानवताका निम्ति रहेका खतराहरुविरुद्धको विश्वव्यापी कारबाही खेदजनक रहेको भन्न अपर्याप्त रहेको बताएको छ।
प्रतिवेदनले विभिन्न देशहरुले मानवअधिकार रक्षाको सवालमा निर्लज्ज भएर दोहोरो मापदण्ड स्थापित गर्दै गएको बताएको छ। नेपालको विषयमा प्रतिवेदनमा हास्य कलाकारको प्रस्तुतिमा सरकारले दोहोरो मापदण्ड बनाएको, मिटरब्याजी पीडितहरुको आन्दोलनमा प्रहरी लगाएर निर्ममतापूर्वक दमन गरेको उल्लेख छ।
त्यस्तै प्रतिवेदनमा नागरिकता प्राप्ति गर्ने समान अधिकारबाट वञ्चित गरेको पनि उल्लेख गरेको छ। एम्नष्टी इन्टरनेशनलले मार्च २८ का दिन विश्वभर एकसाथ मानवअधिकार सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।