काठमाडौं– प्रमुख सत्तापक्षीय दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा विचाराधीन रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा समान धारणा बनाउन र संशोधन राख्नेबारेमा विज्ञहरुसँग छलफल थालेका छन्।
नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा उनीहरुले ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक’ माथि विज्ञहरुसँग छलफल थालेका हुन्। विधेयकको गम्भीरता, मर्म र हाल प्रतिनिधि सभामा विचाराधीन विधेयकका प्रावधानबारे विज्ञहरुले प्रष्ट पार्दैछन्।
यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्ट, पूर्वसांसद राधेश्याम अधिकारी, अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता राजु चापागाईं, पूर्वसांसद मिनेन्द्र रिजाल र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पूर्वसदस्य गंगाधर अधिकारीलाई विज्ञको रुपमा बोलाइएको छ। उनीहरुले पाँच सेक्सनमा कांग्रेस सांसदहरुलाई संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बारेमा जानकारी गराउनेछन्।
प्रतिनिधि सभामा दर्ता भएको विधेयकलाई सरकारले छिट्टै पारित गर्न चाहेको छ। हाल दुई आयोगहरु पदाधिकारीविहीन छन्। त्यसमा पूर्तिका लागि पनि ऐन बन्नुपर्नेछ। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध यही प्रक्रियासँग जोडिएर सर्वोच्च अदालतमा रिट निवेदन पनि दर्ता भएको छ। उक्त रिटमा सर्वोच्चले लिखित जवाफ पनि माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।