धनगढी- नेकपा एमालेका नेता भीम रावलले आफूले पार्टीभित्र गरेका गम्भीर गल्ती देखाउन पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई चुनौती दिएका छन्।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले राष्ट्रहित र कानुनविपरीत सरकारले गरेका कामको आलोचना गर्नु पार्टी भित्रका गम्भीर गल्ती हुन्? भन्दै प्रश्न गरेका छन्।
अछाम पुगेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले नेता रावलले पार्टीभित्र गम्भीर गल्ती गरेको, पार्टीका हरेक निर्णय अस्वीकार गरेको, दिएका जिम्मेवारी नमानेको लगायतका आरोप लगाएका थिए।
नेता रावलले भने, ‘मैले जहिले पनि राष्ट्रहित, मानवअधिकारको रक्षा, देश र जनताको पक्षमा बोलेको छु। पार्टीभित्र भएका गम्भीर त्रुटि सच्याउन सशक्त भएर आवाज उठाएको छु। राष्ट्रिय सन्धि-सम्झौता र परराष्ट्र नीति बिथोलिन नदिन सदनमा विरोध गर्नु मेरो गम्भीर गल्ती भए केही भन्न सक्दिनँ। यदि यी बाहेक केही हुन् भने तपाईंले बुँदागत रुपमा मलाई जवाफ दिनुहोस्।’
नेता रावललाई पार्टीको निर्णय नमानेको पौडेलले लगाएको आरोपमा पनि प्रश्न गर्दै ‘के देशका जनतालाई विषादी खुवाउ मैले भन्नुपर्छ?, हाम्रा सिमाना मिचिएका ठिक हुन् मैले भन्नुपर्छ, संयुक्त सैन्य सन्धि गरेर परराष्ट्र नीति सिध्याउ मैले भन्नुपर्छ, पार्टीमा अब प्रत्येक तहमा निर्वाचन होइन, टीके प्रथा गरौं मैले भन्नुपर्छ। यदि कसैले भन्नुपर्छ भने त्यो पार्टीको नीति, विधान तथा पार्टीका अधिवेशनबाट स्थापित घोषणापत्र विपरीत हुन्छ। यसकारण मैले कुनै पनि निर्णयको उल्लंघन गरेको छैन।’
नेता रावलले अछाममा कार्यकर्ताले कार्यक्रम बिथोल्नु शीर्ष नेताहरुकै गल्ती रहेको बताए। उनले भने, ‘पार्टीका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्रका मानिसप्रति आक्षेप लगाउने काम गरे। जसको विरोधमा कार्यकर्ताले सशक्त आवाज उठाएका छन्।’
पार्टी उपाध्यक्ष पौडेल, पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुको सहभागितामा सोमबार अछाममा आयोजित कार्यक्रममा नेता रावलप्रति आक्षेप लागेपछि कार्यकर्ताहरुले कार्यक्रम बिथोलेका थिए।
‘मेरो जिल्लामा कार्यक्रम भयो। पार्टीका सिद्धान्त, विचार लगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको थियो। कुनै पनि विवाद नगर्ने सहमति भएको रहेछ। पार्टीलाई बलियो बनाएर कसरी अघि जाने भन्ने कुरा थियो तर, त्यो कार्यक्रममा एक जना व्यक्तिले मलाई नै सोझ्याएर प्रहार गरे,’ नेता रावलले भने, ‘त्यहाँ सहभागी कार्यकर्ताले विरोध गरेका हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।