काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने अपेक्षा गरिएको छ। सोमबार बालुवाटारमा १० दलीय गठबन्धनका प्रमुख ३ नेताहरुबीच जुटेको सहमतिअनुसार मंगलबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको थियो। उक्त छलफलमा मंगलबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी जुटेको थियो।
कांग्रेसले ७ देखि ८ वटा मन्त्रालय लिएर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ। मन्त्रीहरुका आकांक्षी धेरै हुँदा कांग्रेसबाट मन्त्री टुंग्याउने विषय सकसपूर्ण बन्दै गएको छ।
कांग्रेसमा पार्टीको नेतृत्व गरेर सरकारमा जाने विषयमा पनि नेताहरुबीच हानथाप छ। संस्थापन इतर पक्षका नेताहरुले पनि मन्त्री बनाउँदा सम्माजनक सहभागिताको दाबेदारी गरेका छन्।
अपडेट: मंगलबार बस्ने भनिएको कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।