काठमाडौं– प्रधानन्यायाधीशलाई मर्यादाक्रमको पाँचौं नम्बरमा राखेर राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय मर्यादाक्रम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति बारले आपत्ति जनाएको छ।
नेपाल बार एसोसिएसनले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई राज्यको ४ नम्बरको मर्यादाक्रमबाट ५ नम्बरको मर्यादाक्रममा राखेर राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैर सरकारी विधेयकप्रति आपत्ति जनाएको हो।
बारले मर्यादाक्रमलाई परिमार्जन गरी सर्वोच्च अदालतको स्वतन्त्रतामाथि संकुचन ल्याउने उद्देश्य राखिएको आरोपसमेत लगाएको छ। बारकी महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा यस्तो आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘विधेयकका सम्बन्धमा यस एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई सो कार्यप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति जनाउँदछ। राज्यको प्रमुख अङ्गको रूपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको यस एसोसिएसनको ठहर छ । तसर्थ उक्त मस्यौदामा हुन गएको गम्भीर त्रुटिलाई यथाशीघ्र परिमार्जन गरी सच्याउन नेपाल सरकार, संघीय संसद् लगायत सरोकारवाला सबै निकायहरूको नेपाल बार एसोसिएसन ध्यानाकर्षण गराउँदछ।’
![336941460_891105988849387_7494708706613116586_n1679934040.jpg](https://nepallive.net/uploads/posts/336941460_891105988849387_7494708706613116586_n1679934040.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।