काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा पूर्वमन्त्री दिवंगत नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताएका हुन्।
उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए।
राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्वर्गीय जोशीलाई चिनेको सुनाए।
जोशीको व्यक्तित्व, राष्ट्रिय रुपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने राष्ट्रपति पौडेलले बताए। राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि उल्लेख गरे।
राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।