काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य-मान्यताको राजनीति संकटमा परेको बताएका छन्। सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे।
उनले भने, ‘२०४६ सालसम्म मूल्य-मान्यता र आदर्शको रानजीतिमा दलहरुले बढी जोड दिएको हामीले पाएका छौं। तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुला भइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ। हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले ध्यान दिन सकेका छैनौं। त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ।’
नेता सिंहले संकटको अवस्थामा पनि नवीन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम गरेको स्मरण गरे।
सपना राजभण्डारीले नवीन्द्रराज जोशीको सालिक बनाएर राम्रो काम गरेको भन्दै उनले सालिकको उचित संरक्षण गर्न टोलबासीलाई सुझावसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।