काठमाडौं– आज दिनभर कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लड लाइट जडान भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले नै स्टाटससहित तस्बिर पोस्ट गरेपछि त्यो पोस्ट माओवादी समर्थकहरुले धमाधम शेयर गरे।
तर त्यो तस्बिर फ्लड लाइट जडान गरेको नभई इडिट गरिएको पाइएकाले उनको आलोचनासमेत भयो। साँझ भने दाहालले उक्त तस्बिर साझा भएकोप्रति प्रष्टीकरण दिएकी छन्।
आइतबार साँझ दाहालले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त स्टाटस भूलबस पोस्ट भएको बताएकी छन्। उनले गलत सूचनाका कारण भूलवस निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोस्ट हुन गएको बताएकी छन्। साथै शब्दलाई भन्दा पनि विषयको भावनालाई बुझिदिन अनुरोधसमेत गरेकी छन्।
प्रधानमन्त्रीले खेलकुद परिषद्लाई फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएकाले सोही अनुरुप काम पनि अघि बढिसकेको दाहालले बताएकी छन्।
उनले भनेकी छन्, ‘कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएकोमा परिषद्ले सोहीअनुरूप काम अगाडि बढाएको छ। सो रंगशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भूलवश निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोष्ट हुन गएको छ। तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु धन्यवाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।