रघुजी पन्त (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार नचाहिने बताएका छन्। उनले अनावश्यक सल्लाहकार राख्ने परम्परालाई बन्द गर्नुपर्ने बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पन्तले भारतमा पनि राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मुसम्म आइपुग्दा कुनै पनि राष्ट्रपतिले सल्लाहकार राखेको नभेटिने बताए।
‘राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन। विज्ञ पनि चाहिँदैन। कानुनमा यो राखिएको भए पनि यसलाई संशोधन गर्न जरुरी छ। राष्ट्रपतिलाई छुट्टै ‘पावर सेन्टर’को रुपमा हामीले अगाडि बढाउने कानुनी प्रावधानहरु राख्यौँ भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ,’ उनले भने।
गणतन्त्रको सुरुवातदेखि नै गडबडी सुरु भएको पन्तको भनाइ छ। ‘संसदीय व्यवस्थामा राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री हो। क्याबिनेट हो। तर हामीकहाँ जब गणतन्त्र आयो। हामीले राष्ट्रपति बनायौँ। सुरुमै त्यहाँ गडबड भयो,’ उनले भने।
राजाको प्रमुख संवाद सचिवालय, सैनिक सचिवालय, परराष्ट्र मामिलाका सचिवालय गरी ५/६ वटा सचिवालय भएको जस्तै राष्ट्रपतिको पनि सचिवालय सुरु गरिएको पन्तको भनाइ छ। ‘प्रेस सल्लाहकार, राजनीतिक सल्लाहकार, कानुनी सल्लाहकार समेत राष्ट्रपतिको राखियो। तर त्यो एउटा संक्रमणकालीन अवस्था थियो। त्यो त गइहाल्यो,’ उनले भने।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बनेपछि ७ जना विज्ञ राख्न पाउने र ३१ जना स्वकीय सचिव भर्ना गर्न पाउने भनिएको भन्दै उनले सल्लाहकार नै नचाहिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।