काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन्।
‘भैंसीको अगाडि वीन बजाउनु’ र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष छ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरूले दिएको सुझावको मतलब नै नराख्ने जिकीर समेत गरे।
अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रुपमा भित्रिने जुत्ता–चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याए।
त्यसैगरी, उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए।
‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भन्छ– भैसके आगे वीन बझाए, भैस रहे पगुराए भन्छ। भैंसीको अगाडि वीन बजायो भने उग्राएर बस्छ। त्यो केही मतलब राख्दैन। त्यस्तै हो, अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि’, ओलीले भने, ‘हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्योट गर्नु एउटै कुरा हो। ५०/५३ प्रतिशत त लुटेकै छ नि त। अब त्यो नरोकिन। विदेशी जुत्ता त्यति सस्तोमा पाउने भएपछि त्यतै मान्छे आकर्षित हुन सक्छ। स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म। त्यसलार्इं संरक्षण दिनु पर्छ।’
ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी वस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।