काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्।
बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताएकी हुन्।
मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन्।
उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन्। उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताए।
उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताएकी छन्। भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरुसँग कुरा राखेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।