काठमाडौं– विभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले बिहीबारबाट सुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा नेपाल एपीएफ क्लवले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।
मधेस प्रदेशले दिएको ५९ रनको लक्ष्य एपिएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गरेको हो। अविजित पारी खेल्ने क्रममा एपीएफका लागि कप्तान सीता राना मगरले ४५ र ज्योती पाण्डेले ८ रन बटुल्दै साथ दिइन्। सीताले ३६ बलको सामना गर्दा ९ चौका प्रहार गरेकी थिइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस १९.४ ओभर समेटियो। एपिएफको कसिलो बलिङ सामु निरिह बनेको मधेसका लागि साना प्रविनले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । एपीएफका लागि सोनु खड्काले ४ र सीता राना ३ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बिहीबार नै उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गर्यो। सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेलेपछि सुदूरपश्चिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८६ रन बनायो।
कसिलो बलिङसामु खुलेर खेल्न नसेकको ललितपुरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २५ तथा हेलिसा गुरुङले १९ रन बनाए पनि जितका लागि पर्याप्त भएन। यस्तै कञ्चन श्रेष्ठले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। सुदूरपश्चिमका लागि रितु कौनोजियाले २ विकेट लिइन भने पाँच खेलाडी रन आउट भएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ योगफल बनाएको थियो। सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले। ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हिर्काएका थिइन्।
उनका अलावा कविता जोशीले अविजित २७ रनको पारी खेल्दा रुवि पोदारले २८ रन, कप्तान विन्दु रावलले १८ रन तथा रेवती धामी शून्य रनमा पवेलियन फर्किएकी थिइन्। ललितपुरका कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिए।
गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा स्थान बनाएका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले जारी प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन्। लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ।
प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल ९ बजे सुदूरपश्चिम र एपिएफ क्लव तथा १ बजे कोशी र ललितपुर मेयर्स–११ बीच कीर्तिपुर मैदानमा प्रतिष्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।