काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ। न्यौपानेसँग ३ करोड २३ लाख बिगो र कैद सजाय माग गरिएको छ।
धितोपत्रको भित्रि कारोबार(इन्साइडर ट्रेडिङ) को अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो। बुधबार उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो। रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ लिएको देखिएको दाबी अभियोगपत्रमा गरिएको छ।
न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको भन्दै नेपाल धितोपत्र बोर्डले २०७९ मंसिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।