काठमाडौं– मानव तस्करीको शिकार भइ जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ।
बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो।
उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो।
यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० जना महिलाहरुलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरोलाई बुझाइएको हो।
उद्धार गरिएका महिलाहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ। उनीहरु नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ। उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन्।
मिसन फ्ल्याटका बारेमा बताँउदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारबाहीमा हराएका २ जनासहित थप ७ जना नेपालीहरु फ्ल्याटबाट फेला परेको बताए।
कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजिपछि महिलाहरुको उद्धार गर्न सकिएको बताए।
प्राथमिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनीहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।