महान्यायाधिवक्ताको कार्यालय (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्नेबारे महान्यायाधिवक्ताको कार्यालयले विभिन्न आधार तथा कारणहरु उल्लेख गरेको छ।
प्रहरीबाटै मुद्दा चलाउनु नपर्ने भन्दै पेस भएको रायसहितको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिल कार्यालयले समेत मुद्दा चलाउनु नपर्ने भन्दै निर्णय गरेका थिए।
त्यसपछि उक्त फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पनि रविको दोहोरो पासपोर्टको प्रकरणमा मुद्दा नचलाउन भन्दै चैत ६ गते निर्णय गरे। उक्त निर्णयसँगै रविले एकैपटक अमेरिकी र नेपाली राहदानी बोकेको प्रकरणमा ‘क्लीनचिट’ पाएका छन्।
यसबारे महान्यायाधिवक्ताको कार्यालयले विभिन्न कारणहरु खुलाएको छ। रवि लामिछानेले पनि बयानका क्रममा नागरिकता ऐन बमोजिमको कसुर गरको नभइ प्रक्रियागत त्रुटि भएको बताएको, निस्क्रिय रहेको नागरिकता प्रयोग गरी सन् २०१५ मे २७ मा लिएको राहदानी प्रयोग गरेको नदेखिएको विषयलाई क्लीनचिटको आधार बनाइएको छ।
सन् २०१८ मे १८ मा अमेरिकी नागरिकता त्याग्नका लागि निवेदन दिएको, सन् २०१८ जुन २८ मा दूतावासले उक्त निवेदनलाई सदर गरेकोले आफू अमेरिकी नागरिक नरहेको रविले बयानमा बताएका थिए।
अमेरिकी नागरिकता त्यागेपछि मात्रै निस्क्रिय रहेको नागरिकता प्रयोग गरेर लिएको पासपोर्ट प्रयोग गरेको देखिनुलाई पनि क्लीनचिटको आधार बनाइएको छ।
सर्वोच्चले गत माघ १३ गते फैसला गरेर सांसद पद खारेज र नागरिकता पुनः प्राप्ति गर्नुपर्ने बताएपछि माघ १५ गते नेपाली नागरिकता पुनः प्राप्ति गरेको, निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानीसम्बन्धी राहदानी विभागमा बुझाइएको उल्लेख गरिएको छ।
रविले बुझाएको उक्त राहदानी समेत रद्द गरिएको भन्ने राहदानी विभागको पत्रबाट खुलेकोले मुद्दा चलाउनुपर्ने कारण नदेखिएको उल्लेख गरिएको छ। ‘नेपाली नागरिकताको प्रमाणपत्र र पुरानो राहदानीमा भएका व्यक्तिगत विवरणको रोहमा राहदानी प्राप्त गरेको देखिएकाले उनले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) बमोजिम जानीजानी झुटा विवरण दिइ राहदानी प्राप्त गरेको भन्न सक्ने देखिएन। उक्त राहदानी प्राप्त गर्ने कार्यमा उनको आपराधिक मनसाय समेत रहेको देखिएन,’ महान्यायाधिवक्ताको कार्यालयले भनेको छ।
सिन्धुलीका युवराज पौडेलले रविको पासपोर्टमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै गत माघ ८ गते जाहेरी दिएका थिए। अमेरिकी नागकिरता लिएपछि स्वत निस्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेर अमेरिका र नेपालको दोहोरो राहदानी एकसाथ प्रयोगमा ल्याएको भन्दै पौडेलले रविविरुद्ध उजुरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।