काठमाडौं- प्रतिनिधि सभा नियमावली, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा सभामुखका अधिकार कटौती गर्ने गरी सत्तापक्षका सांसद्हरुले संशोधन हालेका छन्। नियमावलीको नियम १३ मा एउटा उपनियम थप गरेर सभामुखका अधिकार कटौती हुने व्यवस्था थप्न उनीहरुले प्रस्ताव गरेका छन्।
सभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट देवराज घिमिरे चुनिएका छन्। उनको अधिकार क्षेत्र कटौती गर्दै कार्यव्यवस्था परामर्श समितिलाई बलियो बनाउने तयारी सत्ता पक्षका दलहरुले गरेका छन्।
नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिका विषयमा उल्लेख छ। त्यसमै उपनियम ४ थप्ने प्रस्ताव छ। प्रस्तावमा भनिएको छ, 'यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार मात्र गर्नेछन्।'
उक्त व्यवस्था थप गर्दा सभामुख सभामुख सबै पार्टीको साझा बन्ने संशोधनकर्तामध्येका एक नेपाली कांग्रेस सांसद् रामहरि खतिवडाले बताए। उनले भने, 'कार्य व्यवस्थामा सबै पार्टीका प्रतिनिधि हुन्छन्। कहिलेकाहीँ सभामुख आएर पनि पार्टीको पक्षधरता लिने हुन् कि भन्ने जुन डर छ, त्यो हट्नेछ।'
यसअघि पार्टीबाट राजीनामा दिने तर सभामुखमा पार्टीको सुगन्ध-गन्ध कायम हुने हुँदा तठस्थ बनाउनका लागि आफूहरुले संशोधन हालेको उनको दाबी छ। कांग्रेसबाट खतिवडा, माओवादी केन्द्रबाट माधव सापकोटा सुवोध, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मुख्य सचेतक सन्तोष परियार, एकीकृत समाजवादीबाट भानुभक्त जोशी र अमरबहादुर थापाले संशोधन हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।