काठमाडौं- राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख थुनिएकोमा टिप्पणी गरेकी छन्।
‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोजिरहेको र केही प्रहरीहरुले जबर्जस्ती उनीहरुको मुख थुनिदिएको, घाँटी न्याकिरहेको र लछारपछार पारिरहेको तस्बिरहरु जताततै देख्न पाइराखिएको छ। यो किन भएको हो? यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो?’, पौड्यालको प्रश्न छ।
उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको स्मरण गराइन्। ‘प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन? यो विषयमा म गृह मन्त्रालयको ध्यानाकर्षण पनि गराउन चाहन्छु र जवाफ पनि माग गर्न चाहन्छु’, उनले भनिन्।
मंगलबार प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी हुने क्रममा विरोध गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र मुख थुनेको भिडिओ तथा फोटोहरु सार्वजनिक भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।