काठमाडौं– अन्तर्राष्ट्रिय दूर सञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हु्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत प्रस्थान गरेकी छिन्।
सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्मा मंगलबार भारत प्रस्थान गरेकी हुन्। नयाँदिल्लीमा स्थापना भएको आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ।
उनी बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने अन्य कार्यक्रमहरुमा समेत सहभागी हुनेछिन्। उक्त कार्यक्रममा विभिन्न देशका सञ्चार मन्त्रीहरू सहभागी हुनेछन्। त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुने छिन्।
बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसँग दुई पक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए। मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन्।
मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।