काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकार (२०४८-५१) कै जस्तो आँट गर्न आग्रह गरेका छन्।
कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले अहिलेको सरकारले लामो समयदेखि अड्केर बसेको ‘गभर्मेन्स’ र ‘इकोनोमी’को रिफर्मलाई खोल्नुपर्ने बताए।
उनले रिफर्म गर्ने भनेको नागरिकमाथि विश्वास गर्नु भएको बताए। नागरिकमाथि विश्वास गरियो भने सरकारले नागरिक पाल्ने होइन, नागरिकले सरकार पालिदिने थापाको भनाइ छ।
२०४८ सालमा नागरिकको स्वतन्त्रतामा विश्वास गरेकैले २०५१ सालमा मनमोहन अधिकारी आएर १०० रुपैयाँ वृद्धभत्ता बाँड्छु भन्न सकेको थापाको भनाइ छ।
‘२०४८ सालमा सरकारको खुत्रुकेमा ३६ अर्ब राजस्व थियो। जबकि गिरिजाप्रसाद प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा १२ अर्ब मात्रै थियो’, थापाले भने, ‘नागरिकलाई विश्वास गर्ने नीति लिएको कारण खुत्रुकेमा पैसा बढ्यो, जसका कारण खुत्रुके बलियो भएर सरकारले नागरिक पाल्छु भन्ने हिम्मत गर्न सक्यो।’
उनले सरकारले नागरिकको स्वतन्त्रता र आर्थिक अधिकारमाथि विश्वास गर्नुपर्ने बताए। ‘यो बाटो देखाएर (गिरिजाप्रसाद कोइराला) जानुभयो हो। हामी यसलाई बिर्सिरहेका छौं। यो कुरालाई हामी सम्झौं र नेपाललाई अझै बढी खुला, अझै बढी नागरिकमाथि विश्वास, उसको अधिकारमाथि विश्वास, अझ बढी वातावरण बनाइदिऊँ। अझ बढी प्रतिस्पर्धाको वातावरण बनाइदियौं भने मलाई विश्वास छ, केही समयमै हामी नेपाललाई ट्र्याकमा राख्न सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।